प्रहरी कार्यालय
प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन् । जिल्ला दैलेख गुराँस गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २७ को बिकाश बि.सी. लाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटी गएको प्रहरी टोलीले मिति २०८१।०५।३ गते साँझ १७:३० बजेको समयमा गुराँस गा.पा.वडा नं.६ दैलेखबाट र जिल्ला बाँके राप्तीसोनारी गाउपालिका वडा नं. ७ लालपुर बस्ने बर्ष ३६ को लोक बहादुर खाणलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।१८ गते राती २२:३० बजेको समयमा जिल्ला सुर्खेत लेकबेशी न.पा. वडा नं. २ स्थित दशरथपुरबाट पक्राउ गरेको हो । आफुहरु प्रहरीको बिधिबिज्ञानको सई भएको बताउँदै निज हरुले दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके लगायत १६ जिल्लाका ब्यक्तिहरुलाई निजहरुको आफन्तको बिभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परिक्षणको क्रममा संकलन भएको स्वाव परिक्षणको परीक्षण प्रतिवेदन चाँडो झिकाई मुद्दा मिलाई मानिस छुटाई दिन्छु भनी आफ्नो नाम पुर्ण बहादुर देउवा/बिनोद खाण बताई ९७६६२०७५९३ नम्बरको मोबाईलबाट निजहरुलाई ठगी गर्ने गरेको पाईएको छ । हालसम्मको अनुसन्धानबाट बिभिन्न जिल्लाका १८ जना ब्यक्तिहरुबाट मुद्दा मिलाई दिन्छु भनी नगद रु.५,०६,५३५ (पाँच लाख छ हजार पाच सय पैतीस) ठगी गरेको खुल्न आएको छ । हाल निज प्रतिबादीहरुलाई सम्मानित दैलेख जिल्ला अदालत, दैलेखबाट म्याद थप अनुमति लिई हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।